मनाेरञ्जनसंगीत

अभावै अभावको विचमा उदाउदै कृष्ण

ढुंगाको काप फोरेर पनि, उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कैल्यै, हुँदैन विफल ।।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले सिर्जना शक्तिलाई उल्लेखित कवितांशमा उल्लेख गरेझैँ १५ वर्षीय कृष्ण विकलाई भेट्ने हो भने लाग्छ, संगीत, साहित्य र सिर्जना सायद अभावको बगैँचामा नै फक्रिन्छ । जुन कुना–कन्दरामा उम्रिए पनि सिर्जनाको बिरुवा सुन्दर फूल भएर मुस्कुराएरै छाड्छ ।राज्यको नक्सामा सुदूर किनारमा रहेको बझाङ, बझाङको पनि दुर्गम गाउँ दंगाजी सिमतोलामा जन्मिएका कृष्णलाई किशोरावस्थामै काठमाडौं टेक्न पाउनु नै ‘महाभारत’ थियो । ‘दलित’ परिवारमा जन्मनुको दुःखभन्दा अभावको पहाड बढी अजंगको लाग्छ, उनलाई । ‘आमा भन्नुहुन्छ, म जन्मिँदा घरमा तावा (रोटी पकाउने भाँडो)बाहेक अरू केही थिएन रे !’ किशोर गायक कृष्णले आफ्नो वास्तविकतामाथि खोले, ‘हुन त अचेल पनि आज खाए भोलि के खाऊँ भन्ने अवस्था उस्तै छ ।’ तर, कृष्णले भर्खरै ५ लाख खर्चेर एउटा म्युजिक भिडियोसहितको गीति एल्बम सार्वजनिक गरे । १२ वर्षकै उमेरमा ०७१ मा काठमाडौं टेकेका कृष्णलाई एल्बम तयार पार्न तीन वर्ष लाग्यो । यो अवधिमा दुःखको एउटा सगरमाथा नै उक्लिनुप-यो, उनले । ‘बझाङदेखि यहाँसम्म भोगेकोे संघर्षको कथालाई मैले उपन्यासको आकार दिएको छु,’ कृष्णले भने, ‘हातले लेखेको नौ सय पानाको पाण्डुलिपी तयार छ, छाप्ने बरकत छैन ।’

देउवाको नजरमा परेपछि
०७० सालको चुनावी माहोल । बझाङको विजगडामा आमसभा हुँदै थियो । कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा आमसभामा सम्बोधन गर्न त्यहाँ पुगेका थिए । सोही मञ्चमा  कृष्णले गीत गाए । सायद देउवा कृष्णको प्रतिभाबाट प्रभावित भए । उनकै शब्द र लयको गीत सुनेपछि देउवाले कृष्णलाई आफूनजिक बोलाए । ‘काठमाडौं आऊ, के गर्न सकिन्छ, गरौँला’ भने । आफूलाई शेरबहादुर देउवाले काठमाडौं बोलाएको कुरा कृष्णले आमालाई भने । आमाले जिस्किएको ठानिन्, पत्याइनन् । कृष्णले आफू नजन्मिँदै भारत पसेका बुवालाई उक्त कुरा भन्दा बुबाले,‘ऋण धेरै छ, बरु यतै आइज, बाबु–छोरा मिलेर तिरौँला’ भन्दै बाध्यता दर्साए ।

बस्तुभाउ चराउँदा गुनगुनाउने कृष्णले पाँच कक्षामा पढ्दा एक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिएका थिए । त्यहाँ उनले १२ वटा कापी र १२ कलम पुरस्कार पाए । ‘गाएपछि केही हुँदो रहेछ’ भन्ने ऊर्जाले उनलाई गायक बन्न उत्प्रेरित गरिरह्यो । ‘बझाङमा बसेर आफूभित्रको प्रतिभा बाहिर ल्याउने छाँट देखिनँ,’ कृष्ण गम्भीर हुँदै भन्छन्, ‘काठमाडौं आउने उपाय थिएन ।’ ‘दुःखीको कुरा दैवले सुन्छ’ भनेझैँ एकदिन उनका गुरु प्रेमबहादुर बमले बसको टिकट काटिदिए र कृष्ण काठमाडौं पसे । जेनतेन काडमाडौं टेके पनि यहाँ ‘टिक्न’ गाह्रो थियो । उनले शेरबहादुर देउवालाई भेट्ने कोसिस गरे । महिना दिन अरूकै आश्रयमा बित्यो । एक दिन श्रीराम लामिछानेले देउवालाई भेट्ने वातावरण मिलाइदिए । देख्नेबित्तिकै देउवाले ‘कृष्ण’ भनेरै बोलाए । हालखबर सोधे । कपनमा बस्ने र श्रम राष्ट्रिय मावि चाबहिलमा पढ्ने व्यवस्था मिलाइदिए ।

जेठ २५ गते कृष्णको पाँच गीत समेटिएको पहिलो एल्बम ‘झल्को’ विमोचनको दिन आइपुग्यो । उनी निम्तो लिएर देउवानिवास पुगे । ‘बुबा, विमोचनमा आइदिनुपर्छ’ भने । देउवाले ‘म कैलालीतिर हुन्छु, विमलेन्द्र निधिजी आउनुहुन्छ’ भन्दै निधिसँग फोनमा कुरा गरे । निधिको प्रमुख आतिथ्यमा एल्बम विमोचन भयो ।

विमोचनमा निधिपत्नी अनामिका निधिले धेरैलाई निम्ता बाँडिन् । विमोचनका क्रममा नेता एनपी साउदले ‘कृष्ण दलित परिवारका लागि मात्र नभएर देशकै संगीत र साहित्यका लागि गर्व गर्नुपर्ने प्रतिभा भएको बताए । नीर शाहले ‘कृष्ण अब्बल प्रतिभा हो, उसलाई फिल्ममा स्थापित गर्ने जिम्मेवारी मेरो भो’ भन्दै प्रतिबद्धता व्यक्त गरे । नैनसिंह महरले भने, ‘कृष्णको डेन्टिस्ट बन्ने सपना पूरा गर्ने जिम्मा मेरो ।’

एल्बम यात्रा
शेरबहादुर देउवा र कृष्णका बीचमा बाबु–छोराकोजस्तै सम्बन्ध भए पनि कृष्णले न्यूनतम आवश्यकताभन्दा माथि कहिल्यै अपेक्षा गरेनन् । चिनेजानेका र मन भएकासँग हजार, पाँच सय मागेर अनि प्रतियोगितामा भाग लिएर हात परेको पैसाले उनले एल्बम निकाल्ने आँट गरे । ‘यो दौरानमा निकै दुःख भोगेँ,’ कृष्णले भने ।
कसले भन्छ मान्छे यहाँ
पसिना बगाउनेलाई
श्रम गरी दुःख गरी
देशलाई सघाउनेलाईं
यही गीतको एरेन्जका लागि कृष्ण कपनबाट नयाँ बानेश्वर जाँदै थिए । खल्तीमा भएको ५० रुपैयाँ कतै खसेछ । माइक्रोका सहचालकले नराम्ररी झपारेछन् । ‘पैसा नहुनेले पनि गाडी चढ्न किन रहर गर्नु,’ भनेपछि उनी रातोपिरो भए । माथिका गीतका लाइनहरू सम्झिए । साँझ हुँदै थियो । उनी दिक्दार भएर गाउँ फर्किने कुरा मनमा खेलाइरहेका थिए ।

मोबाइलमा ज्योत्स्ना साउद (एनपी पत्नी) लेखिएको नम्बरबाट फोन आयो । ‘उहाँले के छ बाबु, के गर्दै छौ ? भन्नुभयो,’ कृष्णले सम्झिए, ‘सायद मेरो आवाज निरास थियो, उहाँले एकाएक केही कुराको पीर नगर, म छु भन्नुभयो, मलाई आमा नै पाएझैँ लाग्यो ।’ एल्बम विमोचनको चाँजोपाजो पनि ज्योत्स्नाले नै मिलाइदिएको उनी बताउँछन् ।

एसइई दिएर बसेका कृष्णले १५ वर्ष पार गर्दा नगर्दै गीति एल्बम ‘झल्को’ र पाँचवटै गीतको म्युजिक भिडियो बजारमा ल्याए । यसक्रममा भोगेका अनुभवलाई आधार बनाएर उनले उपन्यास नै तयार पारेका छन् । उनको सपना छ, पाण्डुलिपीलाई उपन्यासको आकार दिने । सानै उमेरमा संघर्षको गह्रौँ भारीको थिचाइमा परेका कृष्णको प्रतिभाले ‘ढुंगाको काप फोर्न’ धेरै समय नलाग्ला !  नयाँपत्रिका

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *