अर्थतन्त्रपर्यटनप्रदेश नं. ७

जनप्रतिनिधिको भाषणमा पर्यटन र पर्यटनबाट सम्वृद्धिका कुराहरु छन तर नीतिगत तहबाट पर्यटनको बिषय गरिने लगानी ओझेलमा परेको भेटिन्छ:पर्यटन अभियन्ता खडका

कैलाली – हिन्दु धर्मग्रन्थ मध्येको एक रामायणमा हनुमान नामक पात्र सायद अहिले पनि बेलाबखत चर्चामा आईरहने पात्र हुन । पहिलो कारण निस्वार्थ भक्त र दोस्रो अदभुत बल । म यहाँ पहिलो कारणमा प्रवेश गर्दिन, दोस्रो कारणसँग प्रसँग जोड्न खोजेको छु । हनुमान जन्मदै दैवी शक्ती पाएका पात्र हुन । चञ्चले बाल्यकालका कारण उनले आफुमा भएको शक्ती बिर्से । उनी पनि अन्य बानरहरु जस्तै सामान्य हैसियतमा लामो समय व्यतित गरे । लामो कालखण्डपछि यस्तो समय आयो जब उनले आफ्नो वास्तविक शक्तीको बिषयमा बुझे र प्रयोग गरे । अन्ततः उनको यो घटनाले आज पनि हामीले उनीबाट सिक्नुपर्ने र महसुस गर्नुपर्ने बनायो । मैले यो लेखमा धार्मिक बिषय उजागर गर्न खोजेको होईन प्रवेश गर्न खोजेको बिषय पर्यटन हो र अझ भनौं सुदूरपश्चिमको पर्यटन हो । करिब एक दशकको समय पर्यटन प्रवद्र्धनको अभ्यासमा लागिरहदा आफैले भोगेको, देखेको र सिकेको पक्षहरु बाडने जमर्को गरेको छु ।

हिजोआज हरेक जनप्रतिनिधिको मुख मुखमा पर्यटन र पर्यटनबाट सम्वृद्धिका कुराहरु गरिएका हुन्छन । त्यतिमात्र होईन खुला भाषणमा पनि पर्यटनले सम्वृद्धि ल्याउँछ र हामीसँग यस्ता पर्यटकीय ठाउँहरु छन भनेका हुन्छन् । यति हुँदा पनि जब नीतिगत तहबाट पर्यटनमा काम गर्नुपर्ने अवस्था आउँछ त्यतिबेला पर्यटनको बिषय र त्यसमा गरिने लगानी ओझेलमा परेको भेटिन्छन । हामी पर्यटन प्रवद्र्धन, व्यवसाय र अभियानमा क्रियासिल व्यक्ती तथा संस्थाहरुले पनि हाम्रो पर्यटकीय सम्भावनाको भित्रि पाटो अझै आत्मसात नगरेको हो कि भन्ने पनि महसुस हुन्छ । किनभने हामी खप्तड, बडिमालिका, रामारोशन, अपि साईपाल हिमाल, शुक्लाफाँटा, संरचनाले ठूलो बनाईएका मन्दिरुलाई मात्र पर्यटकीय आर्कषणको रुपमा देखिरहेका छौं । त्यति मात्र होईन देशका अन्य पर्यटकिय आर्कषणका ठाउँहरुसँग दाजिरहेका हुन्छौं । पर्यटनका दिग्गज तथा अनुभवी व्यवसायीहरु भन्छन,– पर्यटन भनेको यस्तो बिषय हो जहाँ कथा बुन्नुपर्छ । कालोलाई सेतो र सेतोलाई कालो प्रमाणित गर्न सक्नुपर्छ । पर्यटन अभियन्ता तथा व्यवसायी गोपाल हमालले भन्ने गरेको कुरा सम्झन्छु । हामी पूर्वतिरका पर्यटकीय सम्पदा र पूर्वाधारसँग सुदूरपश्चिमको पर्यटनको तुलना नै नगरौं । सुन्दरताका हिसावले यहाँका सम्पदाहरु बढी सुन्दर पनि हुन सक्छन र कम पनि । तुलनामा नजाऔं, भएका सम्पदाहरुलाई कसरी थप आकर्षक बनाउने भन्नेमा लागौं ।

सुदूरपश्चिम घुम्न आउने पर्यटकहरुः
अहिलेसम्मको आँकडा अनुसार सुदूरपश्चिम आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सबैभन्दा बढी रोजिएको गन्तव्य खप्तड नै हो भन्नेमा दुईमत छैन । त पर्यटकहरु खप्तड किन आईरहेका छन् ? मनन गर्नुपर्ने बिषय हो हाम्रा लागि । खप्तड सगरमाथा जस्तै विश्वकै अग्लो शिखर पनि होईन, पोखरा जस्तो फेवातालमा माछापूच्छे पौडी खेले जस्तो पनि छैन, काठमाडौका जस्ता सुविधा सम्पन्न होटेल र अन्य सेवा सुविधाहरु पनि छैनन । हो खप्तड नितान्त फरक छ । प्रकृतीप्रेमीहरुका लागि खप्तड सुन्दर, शान्त र मनमोहक छ । थुम्काहरुमा घना तथा बाक्लो बोटहरु, बिचमा हरिया ठूला ठूला पाटनहरु, पाटनमा चरिरहेका घोडा, भैंसी तथा घरपालुवा जनावरहरु, ठाउँ ठाउँमा भेटिने जंगली बदेलका झुण्डहरु ।

आध्यात्मप्रेमीहरुका लागि खप्तड अदभुत तपोभूमी हो । खप्तड बाबाले लामो समय ध्यान गरेको ठाउँ हो । यत्रतत्र कस्मिक ईनर्जी भएको ठाउँ हो । संस्कृतिप्रेमीहरुका लागि गंगादशहरा मेला हो । जहाँ देउडा, घोडा दौड लगायत स्थानीय भेषभुषमा सजिएका वास्तविक सुदूरपश्चिमेली पहिरनहरु देख्न पाईन्छन् । धर्मकर्ममा आस्था राख्नेहरुका लागि खप्तड तपोभूमी हो । ३३ कोटी देवीदेउताको राजधानी, महादेव पार्वतीले विवाह पश्चात हनीमुन मनाएको ठाउँ हो । विदेशी पर्यटकको कुरा गर्ने हो भने अधिकांश विदेशी पर्यटकको पहिलो पटक घुमघामको रोजाईमा सगरमाथा आधार शिविर, पोखरा, चितवन, लाङटाङ, अन्नपूर्ण क्षेत्र पर्ने गरेको हुन्छ । सुदूरपश्चिमतिर घुम्न आउने विदेशी पर्यटकहरु भनेका अधिकांश तेस्रो चौथो पटक नेपाल आउँदा अब कहाँ जाने, बाँकी रहेका ठाउँ घुमौं न भन्ने सोचबाट आएका भेटिन्छन् । आन्तरिक पर्यटकहरुको कुरा गर्नुपर्दा पछिल्लो समय पहिला देश अनि विदेश भन्ने नाराले लोकप्रियता पाएको छ । नेपालीहरुमा घुम्ने शैलीको विकास भएको छ । यसै कारण अहिले खप्तड लगायत सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुमा ढिलै भएपनि आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।

पर्यटकका लागि स्थानीयपन लोकप्रिय बन्दै
जो कोही पर्यटक नँया ठाउँमा जाने भनेको घुम्न, रमाईलो गर्न, अध्ययन गर्न, अनुभव बटुल्न जाने हो । नँया ठाउँमा गएपछि नँया कुरा हेर्ने, खाने, रमाईलो गर्ने त भई नै हाल्यो ।  पछिल्लो समयमा पर्यटनमा स्थानीयपन खोज्न थालिएको छ । स्थानीय कला संस्कृति, परिकारहरु लोकप्रिय बन्दै गईरहेका छन् । पर्यटकहरुले खोज्ने धेरैजसो कुराहरुमा स्थानीयपन खोज्न थालिएको छ । हालसालै बझाङको खप्तड छान्ना गाउँपालिकाबाट गएको भ्रमण टोलीले ईलाममा पुगेर लिम्बुहरुको परम्परागत पोशाक लगाएर रमाए र फेसबुकमा गर्विलो ढंगले तस्वीर हाले । साथै एक एक प्याकेट ईलामको बारीको ताजा चिया पनि सँगै बोकेर आए । हो यही हो, स्थानीय पन र स्थानीय परिकार । बल्ल पो स्थानीय वासिन्दाले पनि पर्यटनको स्वाद र लाभ पाए । पर्यटन अभियन्ता रमनचन्द्र श्रेष्ठ दाई भारतको देहरादुन नजिकै रहेको मसुरी हाईटमा पुगेर गडवाली लुगा लगाएर रोमाञ्चित भए । उनी त रोमाञ्चित भए नैं उनले त्यो लुगा एकछिन लगाएर फोटो खिच्न १०० रुपैयाँ दिनुपर्यो । त्यो लुगा उपलब्ध गराउने व्यवसायी झनै रोमाञ्चित भए किनभने उनले रमन दाईसँगै गएका अन्य ४–५ जनाबाट पनि त्यसैगरी पैसा असुले । रमनदाई गडवाली लुगा लगाएर सहिन्सा जस्तै देखिएकोमा मख्ख, व्यापारी पैसा कमाउन पाएकोमा मख्ख ।

हिजो आज नेपाल फर अल सिजन भन्ने नारा पनि अगाडी सारिएको छ । विगतका बर्षहरुमा झैं सिजनमा मात्र पर्यटकहरु भित्र्याउने भन्ने कुरालाई यो नाराले खण्डन गर्छ । जस्तो प्रायः विदेशीहरु असोजदेखि मंसीर र फागुनदेखि वैशाखसम्म नेपाल घुम्न आउने गर्दछन् । तर पछिल्लो समयमा बर्षातको समयमा पनि पर्यटकहरु भित्रयाउने उद्देश्यले भिटोफ नेपाल जस्ता संस्थाहरुले रोपाई पर्यटन जस्ता अवधारणा अगाडी सारेका छन् । जहाँ विदेशीहरुलाई हो हो माले होहो पारामा रोपाईमा सहभागी हुन्छन र हिलो छ्यापाछ्याप गर्दै भरपूर्ण मनोरञ्जन लिन्छन् । त्यसैगरी फागुपुर्णिमा, मछिन्द्रनाथको रथयात्रा हेर्न पनि विदेशी पर्यटकहरु आउन थालेका छन् । विस्तारै विस्तारै नेपालमा साहसिक, पदयात्रा सँगसँगै संस्कृति प्रिय र स्थानीय पनलाई मन पराउने पर्यटकहरु नेपाल भित्र्न थालेका छन् ।

पर्यटकहरु सुदूरपश्चिम किन आउने ?
सुदूरपश्चिमका पर्यटकीय आर्कषणहरु फरक र पृथक छन । मात्र हामीले ती आर्कषणहरुको महत्व नबुझेको हो । हनुमानले आफनो शक्ती बिर्सिएझैं । प्राकृतिक सुन्दरता सँगसँगै सांस्कृतिक विविधता सुदूरपश्चिमको पर्यटकीय आकर्षणका अर्का गहना हुन सक्छन् ।  यहाँका हरेक चाडबाड, परम्परा र संस्कृतिमा पर्यटक भित्रयाउन सक्ने सामथ्र्य छ । केही रुढीवादी र अवैज्ञानिक पक्षहरुलाई केलाएर बाहिर राख्ने हो भने सुदूरपश्चिमका कला, संस्कृति, खाद्य परिकारहरुले देशका नाम चलेका गन्तव्य र परम्परालाई उछिन्न सक्छन् । सुदूरपश्चिममा अहिले पनि पाहुनालाई गरिने सत्कार छ, सायदै अन्त नभेटिएला । सुदूरपश्चिमवासी गर्व गर्छौ, हामी साँझको अस्त हुने सूर्यलाई बास दिन्छौं । तर त्यो सत्कार र आतिथ्यलाई अव व्यवसायिकतामा ढाल्नुछ । आतिथ्य सत्कार पनि गर्ने र केही आर्थिक मुनाफा पनि लिने ।

सुदूरपश्चिममा पर्यटकलाई कस्तो खाना दिने ?
त्यसैगरी हामीले ग्रामीण भेगमा खानपिनबाट पनि पर्यटकहरुलाई आकर्षित गर्न सक्छौं । तर त्यो अभ्यास भने पटक्कै भेटिदैन । खाजा खानु पर्दा चाउचाउ अगाडी सर्छ । खानामा भारतबाट आएका चामलको भात र रामदेव वाला पिठोको रोटी खुवाईन्छ । स्थानीय अन्नहरु कोदोको रोटी, सिस्नोको साग, स्थानीय चामलको भात दिन लाज मानिरहेको पाईन्छ । हामीसँग यहाँका रैथाने परिकारहरु छन जो सायद अन्त भेटिदैनन । मासको बटुक (बारा), चुकानी, चामलको घार्या माडा, कोदोको रोटी आदि । पछिल्लो समयमा यहाँको पर्यटकीय स्थल अथवा केही गाउँ र रेष्टुरेण्टहरुमा स्थानीय परिकारको स्वाद पनि दिन थालिएको छ । जस्तै धनगढीको भादा होमस्टेमा थारु परिकारहरु, धनगढी चौराहामा रहेको खप्तड खाजाघरमा कोदोको रोटी, आलु सेकुवा, हिमाली थुक्पा लगायतका परिकारहरु पाईन्छन् । खप्तड जाने पर्यटकहरुलाई खप्तड जाने बाटोमा पर्ने बझाङको छान्ना क्षेत्रमा पनि यस्तै मौलिक परिकारहरु खुवाउने खप्तड छान्ना गाउँपालिका र स्थानीय होटेल व्यवसायीहरुको प्रतिवद्धता छ ।
लोप हुदै गएका बालिनाली र संस्कृतिको जगेर्ना गर्न सके भोलीका दिन तीनै खाद्य बाली र संस्कृतिबाट हामीले पर्यटनमा नयाँ स्वाद दिन सक्छौं र आयआर्जनको माध्यम बनाउन सक्छौं । अन्तमाः खप्तडमा थप पर्यटकीय चहल पहल कसरी बढाउने भन्ने सन्र्दभमा योगी व्यग्रवेदनाथसँग छलफल भयो । उहाँले खप्तडमा गोठालो पर्यटनको पनि सम्भावना रहेको विचार प्रकट गरे । हुन पनि हो अहिले भैंसी खर्क र गोठालो बस्ने चलन र तरिका करिव करिव लोप भईसक्यो । तर खप्तडमा भने अझैं भैंसी खर्क र गोठालो परम्परा जिवितै छ । खप्तड जाने पर्यटकहरुलाई गोठालो बनाएर गोठालो पर्यटकको स्वाद दिने उद्देश्यका साथ अभ्यासको थालनी गर्ने विचार गरे । मसँगै गएका पर्यटकहरुलाई भैंसी दुहुन लगाउने, भैंसी खर्कमा एकरात सुत्ने र गोठालोको लुगा लगाएर खप्तडी गोठालो भएको महसुस गराउने ।  तर खर्क पनि छन्, भैसी पनि छन जति खोज्दा पनि पुराना गोठालाले लगाउने वास्तविक पहिरन बोल्लाको गादो भेटाउन सकिएन । जसले गर्दा पर्यटकहरुको गोठालो बन्ने रहर अपुरो रह्यो र मेरो गोठालो बनाएर उनीहरुलाई रमाउने अभियान पनि । – दिनेशखबर

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *