अर्थतन्त्रप्रदेश नं. ३समाज

वार्षिक दुई अर्बको ठगी,

काठमाडौं । सूचना प्रविधि बढेसँगै मानिसमा लोभी र लालचपन बढाउँदै लगेको एक तथ्यांकले देखाएको छ । त्यसको फाइदा भने समाजमा रहेका फटाहाको समूहले लिने गरेका छन् ।

उनीहरूले विभिन्न बहाना बनाएर रकम निकाल्न लगाउने र ठग्ने गरेका हुन् । कसैले सटही गर्ने नाममा, कहिले वैदेशिक रोजगार उपलब्ध गराउने, कोही ठूलाबडाको नाम लिँदै विभिन्न काम गरिदिने भन्ने बहानामा रकम ठग्ने गरेका हुन् । नेपाल प्रहरीको एक तथ्यांकलाई मान्ने हो भने राजधानीमा मात्रै वार्षिक २ अर्बको ठगी हुने गर्दछ । ठगीलाई कसैले पेसा नै बनाएका छन् भने कतिपय अर्काको लहलहैमा लागेर फस्ने गरेका छन् ।

प्रहरीका अनुसार राजधानी पर्ने उजुरीमध्ये ९० प्रतिशत ठगीकै हुने गरेका छन् । महानगरीय प्रहरी परिसर प्रमुख वसन्तकुमार लामाका अनुसार, प्रहरीमा दर्ता हुने उजुरीमध्ये करिब ९० प्रतिशत हाराहारी त ठगीका मात्र छन् । उनले भने, ‘प्रहरीमा आउने गरेका उजुरीमध्ये ९० प्रतिशत ठगीकै रहेका छन्, त्यसमध्ये कति बाउन्स चेकका, केही ठगी गरेर फरार रहेका छन् ।’ प्रहरीका अनुसार, ठगीमा केही वकिलदेखि प्रहरीकोसमेत संलग्नता देखिएको छ ।

आर्थिक वर्ष ०७३÷७४ मा मात्र नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा ८ सय ४८ वटा विभिन्न शीर्षकमा ठगीका उजुरी परेका छन् । ती घटनामा २ अर्ब २० करोडभन्दा बढी ठगी भएको रहस्य खुलेको थियो । त्यस्तै, ०७४÷७५ मा ५२ करोड ३० लाख बढी रकम ठगीको उजुरी परेको महाशाखामा चालु आर्थिक वर्षको पुष महिनासम्म झण्डै ७५ करोड रकम ठगी गरेको उजुरी पुगेको छ । यसबाहेक महानगरीय प्रहरी परिसर काठमाडौंमा पनि उत्तिकै मात्रामा ठगीका उजुरी पुगेका छन् । दुवैले बेग्लाबेग्लै छानबिन गर्ने भएकाले एक ठाउमा उजुरी हालेकाले अर्को ठाउमा हालेका हुँदैनन् । महानगरीय अपराध महाशाखाका अनुसार, ठगीमा कतिपयले पेशेवर व्यक्ति संलग्न छन् भने कतिपय विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायत बहानामा ठगिरहेका छन् ।

पछिल्लोपटक महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गको डेजाभु क्लबका सञ्चालकसहित तीन जनालाई ठगीको आरोपमा पक्रियो । २ करोड रुपैयाँ नदिई ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । त्यस्तै, फागुन–१० गते मात्र प्रहरीले काठमाडौंको गोंगबुबाट विदेशी रकम साट्ने बहानामा ठगी गरेको अभियोमा तीन जनालाई पक्रियो । उनीहरूले विदेशी रकमको बन्डलभित्र कागज राखी सोझा व्यक्तिलाई ठगी तथा लुटपाटसमेत गर्ने गरेको प्रहरीको दाबी छ । फागुन–१ गते मात्र पनि ६७ जनाबाट झन्डै ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा अधिवक्ता गोपाल शिवाकोटी पक्राउ परे । उनले त निक्कै ठूलो ओहोदामा रहेका व्यक्तिलाई नै फसाएर ठगी गरेको खुलेको थियो ।

प्रहरीका अनुसार ठगहरूले कसरी ठग्ने भन्ने कुरा व्यक्तिको चाल स्वभाव हेरेर गर्ने गरेको बताएको छ । उसका अनुसार ठगले डलर साट्ने बहानामा, ठूलाबडाको नाम लिएर, आधुनिक प्रविधिको दुरुपयोग गर्दै, कलबाइपास (भिओआइपी) गरेर ठगी गर्ने गरेका छन् । यस्तै, प्रहरीमा परेको उजुरीमा सरकारी छाप दस्तखत किर्ते गरेर, वैदेशिक रोजगारीका नाममा, जागिर लगाइदिने बहानामा, भूकम्प पीडितका नाममा, ढुकुटी खेलमा ठगी र बैंकिङ कसुरमा ठगी गरेको उजुरी परेको जानकारी दिएको छ ।

यीबाहेक इमेल र इन्टरनेटको माध्यमबाट चिठ्ठा सञ्चालन गरेरसमेत ठगी गर्नेहरू पनि बढेका छन् । आधुनिक प्रविधिसँगै जोखिम पनि नयाँ ढंगले बढदै गएको छ । यस्ता अपराध अनुसन्धान र नियन्त्रण प्रहरीका लागि पनि टाउको दुखाई बनेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख लामा भन्छन, ‘ठगीबाट प्रहरीको सक्रियता त छँदैछ स्वयं व्यक्ति पनि सतर्क हुनु आवश्यक देखिन्छ ।’ सर्वसाधारण नागरिक कानुनी प्रक्रियाभन्दा बाहिर गएर काम गराउनेको भर पर्दा ठगीले प्रश्रय पाएको प्रहरी निष्कर्ष छ । अनुसन्धान अधिकारीका अनुसार कानुनी प्रक्रियाबाट हुने कामका लागि सर्वसाधारणले पहुँच भएका व्यक्ति खोजी गर्दा ठगी मौलाएको छ ।

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *