प्रदेश नं. ७वातावरण/कृषिसमाज

वन्यजन्तुको चोरी सिकार : सदरमुकाममा खुलेआम बिक्री,

बझाङ — माघ दोस्रो सातादेखि लगातार हिमपात भएपछि बझाङको लेकाली क्षेत्रमा दुर्लभ वन्यजन्तु र पन्छीको चोरीसिकार बढेको छ । २ महिना यता जिल्लामा ठूलो संख्यामा वन्यजन्तु र पन्छीहरूको चोरीसिकार भएको हो । हिउँमा फसेका मृग र चिसोले औल झरेका अन्य जनावरको सिकार गर्न सजिलो हुने भएकाले सिकारीहरू हूलै बाँधेर सिकार खेल्दै जंगलमा घुमिरहेका छन् । हिमपातको बेला घरमा काम नहुने भएकाले हिमाली तथा उच्च पहाडी भेगका अधिकांश पुरुष बन्दुक, भाला, हँसिया र लाठीलगायत घरेलु हतियार र सिकारी कुकुरसहित सिकार खेल्न लेक जान्छन् । उनीहरूले रतुवा, घोरल, झारल, थारल र बँदेललगायत जंगली जनावर तथा डाँफे, कालिजलगायतको सिकार गर्छन् । स्थानीयले कानुनले निषेध गरिएका पन्छीहरूको सिकार बढेको गुनासो गरे । हिमपातका बेला यहाँका सिकारीहरू समूहमा सिकार गर्न जंगल हिँड्छन् । समूहमा सिकार गर्ने यहाँको चलनलाई स्थानीयभाषामा ‘ऐह्रा खेल्नु’ भनिन्छ ।

‘माघयता बँदेल, रतुवा र थारल गरेर ५०/६० भन्दा बढी जंगली जनावरको सिकार भइसक्यो,’ जयपृथ्वी नगरपालिकाका चक्रबहादुर शाहीले भने, ‘उच्च लेकाली क्षेत्रमा हिउँ पर्न अझै रोकिएको छैन । यो वर्ष ऐह्रा लामै चल्नेजस्तो छ ।’ उनले गाउँमा पनि हिमपात सुरु भएयता सयौंको संख्यामाकालिज र डाँफे मारिएको बताए ।

यो संख्या एउटा गाउँका बासिन्दाले मात्र मारेका जंगली जनावर र पन्छीको हो । जिल्लाको हिमाली र उच्च पहाडी भेगमा रहेका साविकका काँडा, सुर्मा, दौलिचौर, रिलु, दहबगर, लेकगाउ, मेलबिसौना, गडराय, कैलाश, कोटदेवल, मस्टा, भातेखोला, धमेना, सुनिकोटलगायतका ३० भन्दा बढी गाविसमा ऐह्रा खेल्ने चलन छ ।

यस अवधिमा जिल्ला भरमा हजारौंको संख्यामा जंगली जनावर र पन्छी मारिएको हुन सक्ने सामुदायिक वन उपभोक्ता महासंघका पूर्वसचिव मंगलबहादुर खड्काले बताए । उनले भने, ‘कुनै गाउँमा त एक डेढभन्दा सय जनावर नै मारिसके भन्ने कुरा आएको छ । जिल्ला भरको संख्या जोड्ने हो भने त हजारौं जंगली जनावर र पन्छीहरू मरिएका होलान् । अझै हिमपात नरोकिएकाले चोरी सिकार पनि रोकिएको छैन ।’

हिमाली भेगमा सिकारको सिजन सुरु भएसँगै सदरमुकामलगायतका बजारहरूमा डाँफे कालिजलगायत पन्छी र विभिन्न जंगली जनावरको मासु बिक्री हुने गरेको छ । सदरमुकाम चैनपुरलगायत आसपास क्षेत्रमा एउटा डाँफे २ हजार ५ सयदेखि ४ हजारसम्ममा बिक्री हुने गरेको होटल व्यवसायी बताउँछन् ।

सिकारीहरूले १ हजार ५ सय देखि १ हजार ८ सयसम्ममा गाउँमै बेच्ने गरेको स्थानीय एक व्यापारीले बताए । यस्तै जंगली जनावर झारल, नाउर र रतुवाको मासु किलोको १ हजार ५ सयसम्ममा बिक्री हुने गरेको सिकारीले बताए । जंगली पन्छी कालिज २ हजारसम्ममा बिक्री हुने गरेको छ ।

चोरी सिकार बढेका कारण केही वर्षपहिला प्रशस्तै पाइने जंगली जनावर र पन्छीहरूको संख्या घट्दै गएको छ । केही वर्षअघि हिमाली क्षेत्रका गाउँ नजिकै प्रशस्त भेटिने डाँफेलगायतका पन्छी र जंगली जनावरहरू आजभोलि मुस्किलले देखिने गरेको स्थानीय बताउँछन् । ‘पहिला हिउँ पर्दा मृग र डाँफेहरू गाउँमै आउँथे,’ काँडाका गोरखबहादुर बोहराले भने, ‘अहिले घन्टौं हिँडेर लेकतिर गएपछि मात्र फाट्टफुट्ट भेटिन्छन । प्रत्येक वर्ष मारेका मार्‍यै छन् । कति हुँदा हुन् ?’

सिकारीहरूले चैनपुरका होटल र पसलहरूमा जंगली जनावरको मासु र पन्छीहरू ल्याउने र व्यापारीहरूले केही फाइदा खाएर सर्वसाधारणलाई समेत बेच्ने गरेको बताउँछन् । ‘कुनै–कुनै दिन त बजारभरि जंगली नै जंगली हुन्छ,’ चैनपुरमा होटल व्यवसाय सञ्चालन गरिरहेका एक जनाले भने, ‘धेरै आएको दिन जंगलीको मासु केही सस्तो हुन्छ । कम आएको बेला सिकारीले भनेको मूल्य तिर्नुपर्छ ।’ उनले आफूले पनि सिकारीबाट सस्तोमा खरिद गरेको दिन सस्तो र महँगोमा खरिद गरेको दिन महँगैमा बेच्ने गरेको बताए । जंगली जनावरको मासु खोज्दै आउनेहरूमा राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीसमेत हुने गरेको उनको भनाइ छ ।

डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले चोरी सिकार भइरहेको विषयमा आफूलाई केही जानकारी नभएको बताए । उनले यस्तो हुन सक्छ भनेर प्रहरीलाई आफूले केही समय अगाडि नै जानकारी गराइसकेको भए पनि हालसम्म कुनै पनि सिकारको घटना फेला नपरेको बताए । ‘यसरी सिकार भइरहेको छ भन्ने हाम्रो जानकारीमा आएको छैन । यस विषयमा बुझेर आवश्यक एक्सन लिन्छौं,’ उनले भने ।

५ महिनाअघि मात्र बझाङबाट सरुवा भएर गएका डिभिजन वन अधिकृत अशोककुमार श्रेष्ठले जिल्लामा चोरी सिकारले डरलाग्दो रूप लिएका कारण यसलाई नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न खालका योजना बनाइरहेको बताएका थिए । ‘कुनकुन ठाउँमा सिकार हुन्छ । कुन नाका भएर ओसारपसार हुन्छ भन्ने कुरा हामीले पत्ता लगाइसकेका छौं,’ श्रेष्ठले भनेका थिए, ‘प्रहरीसँग समन्वय गरेर नियन्त्रणको प्रयास थाले पनि यसको दीर्घकालीन समाधान खोज्नुको विकल्प छैन ।’

उनले वन्यजन्तुसम्बन्धी हुने अपराध नियन्त्रण समितिको बैठक राखेर चोरी सिकार नियन्त्रणका लागि पहल भइरहेको बताएका थिए । ‘स्थानीय समुदायसँग मिलेर सिकार नियन्त्रणका लागि प्रस्ताव तयार गरेका छौं,’ उनले भने, ‘बढी सिकार हुने क्षेत्रमा हातहतियारसहितको पोस्ट राख्न पनि मन्त्रालयसँग समन्वय भइरहेको छ ।’ अहिलेका डिभिजन वन अधिकृत न्यौपानेले भने श्रेष्ठले यसअघि सिकार नियन्त्रणका लागि गरेको प्रयासको विषयमा आफूलाई कुनै पनि जानकारी नभएको बताए । कान्तिपुर दैनिक बाट साभार

फेशबुकबाट तपार्इकाे प्रतिक्रिया

Tags
थप पढ्नुहाेस्

कालंगा न्युज

कालंगान्युज डट् कम सके जति छिटो छरितो र विश्वासनिय सत्य तथ्य समाचार ल्याएर तपाईको सूचनाको तिर्खा मेट्न अहोरात्र जागा छ । कालंगान्युजले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कालंगान्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्बन्धित शिर्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *